News

सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार गर्ने सरकारी योजना असफल

गत आर्थिक वर्षभित्रै सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार गर्ने सरकारी योजना असफल  भएको  छ । नयाँ आर्थिक वर्ष सुरु  भएको १ महिना बितिसक्दा  समेत अझै ११६ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा खोल्न नसकिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल ६ हजार ६ सय ५१ वटा पुगेको छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्म क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ६ हजार ६ सय ५१ वटा पुगेको हो ।
गत आर्थिक वर्षमा मात्र १ हजार ५८३ शाखा थपिएको छ । अघिल्लो आर्थिक वर्षसम्म जम्मा ५ हजार ६८ वटा मात्रै रहेको बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या एक वर्षको अवधिमा बढेर ६ हजार ६ सय ५१ पुगेको  राष्ट्र बैंकले जनाएको छ ।
हालसम्म मूलुकभरका ७५३ स्थानीय तहमध्ये ६ सय ३७ स्थानीय तहमा वाणिज्य बैंकको शाखा सञ्जाल पुगेको राष्ट्र बैंकले जनाएको छ ।
प्रदेश नं १ मा  रहेका १ सय ३७ स्थानीय तहहरु मध्ये १ सय १५ स्थानीय तहमा बैंकको उपस्थिती पुगेको छ । प्रदेश नम्बर २ मा रहेका १ सय ३६ स्थानीय तहहरु मध्ये १ सय २३ स्थानीय तहमा बैंकका शाखा पुगिसकेका छन् ।  प्रदेश ३ मा  रहेका १ सय १९ स्थानीय तहमध्ये १ सय ७ स्थानीय तहमा बैंक पुगेका छन्  ।
प्रदेश ५ का १ सय ९ स्थानीय तहहरुमध्ये ९९ स्थानीय तहहरुमा वाणिज्य बैंकका शाखा स्थापना  भएका छन्  ।
गण्डकी प्रदेशमा रहेका ८५ स्थानीय तहमध्ये ७४ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुले आफ्नो उपस्थिति पुगेको छ ।
प्रदेश नम्बर ७ का ८८ स्थानीय तहहरुमध्ये ६३ तहहरुमा वाणिज्य बैंक पुगेका छन्  । यस्तै कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहहरुमध्ये ५६ वटा स्थानीय तहहरुमा मात्रै वाणिज्य बैंक पुगेका छन । राष्ट्र बैंकले गत आर्थिक वर्षको अन्त्यमा नै सबै स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो । तर, भौगोलिक कठिनाई, पुर्वाधारको अभाव सुरक्षा लगायतका कारण देखाउदै बैंकहरुले दुर्गममा शाखा विस्तार गर्न आनाकानी गर्दै आएका छन् ।
सरकारले बजेटमा नै ७ सय ५३ वटै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने लक्ष्य लिएको थियो । त्यसअनुसार नेपाल राष्ट्र बैंकले देशमा सञ्चालित वाणिज्य बैंकहरुलाई आर्थिक वर्ष २०७४/७५ भित्रै स्थानीय तहमा शाखा खोल्न निर्देशन पनि दिएको थियो ।

 

Comments