News

वीरगन्ज नाका बाहेकका प्रमुख तीन नाकासम्म बल्क कार्गो सुविधा दिन भारत तयार

वीरगञ्ज बाहेकका अन्य तीन नाकाहरु सम्म पनि ‘बल्क कार्गो दिन  भारत  सरकार तयार  भएको छ । वीरगञ्ज नाकासम्म मात्रै सञ्चालनमा रहेको बल्क कार्गो विराटनगर,  शुनौली र नेपालगन्ज नाका सम्म पनि सञ्चालनमा आउने भएको हो ।
वाणिज्य तथा आपुर्ति मन्त्रालयका अनुसार थप नाकाहरुमा समेत विस्तार गर्न पाउने गरि भारतसँग समझदारीपत्र आदान–प्रदान (एलओई) गर्न लागिएको  हो ।  केहि दिन  अघि  नयाँ दिल्लीमा सम्पन्न नेपाल –  भारत वाणिज्य सन्धिको पुनरावलोकन बैठकमा नेपालले थप  बल्क कार्गो सुविधा दिन राखेको प्रस्तावमा भारत सहमत भएको हो ।
भदौ १४ र १५ गते  हुन लागेको बिमस्टेक  बैठकमा यस विषयमा समझदारी हुन लागेको  वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव रविशंकर सैँजुले  जानकारी दिए ।
बल्क कार्गोमा मल, चिनी,नून, सिमेन्ट, कोइला, क्लिंकर, तरकारी, फलफूल लगायतका ठूलो परिमाणमा ल्याइने वस्तुहरु आयात गर्ने गरिन्छ ।
सन् २०१२ मा बसेको नेपाल–भारत अन्तर सरकारी समिति (आईजीसी) को बैठकमा विराटनगर र भैरहवा  नाकासम्म पनि बल्क कार्गो सुविधा विस्तार गर्ने सहमति भएको थियो ।  तर एलओई नहुँदा यसको कार्यान्वयन हुन सकेको थिएन् ।
वीरगञ्जबाट मात्रै आयात गर्नुपर्ने बाध्यताले नेपाल आउने कच्चा पदार्थको लागत वर्षैपिच्छे बढ्दै गएको छ ।  अहिले बल्क कार्गो कोलकाता बन्दरगाहबाट वीरगञ्ज नाकासम्म मात्र ल्याउन पाउने व्यवस्था छ । जसकारण   नेपालगन्ज वा अन्य नाकाहरुमा जानुपर्ने अवस्थामा अनिवार्य रुपमा वीरगन्जसम्म आएर मात्रै जानू पर्ने  बाध्यता रहेको  थियो । बल्क कार्गो डाईभर्ट भएसँगै  वीरगन्ज भन्सारमा हुने कार्गोको लामो  जाम समेत हट्ने तथा आयात सहज हुने वाणिज्य तथा आपुर्ति मन्त्रालयले जनाएको छ ।

 

Comments