News

गत आर्थिक वर्षमा औसत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशतमा सीमित भएको राष्ट्र बैंकको तथ्यांक

आर्थिक वर्ष २०७४/७५ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशतमा सीमित  भएको राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकले सार्वजनिक गरेको  गत आर्थिक वर्षको वित्तिय विवरण अनुसार अघिल्लो वर्ष सो मुुद्रास्फीति ४.५ प्रतिशत रहेको थियो । 
समीक्षा वर्षको औसत मुद्रास्फीति आर्थिक वर्ष २०६१/६२ पछिको सबैभन्दा न्यून हो ।
आपूर्ति व्यवस्थापनमा आएको सुधार तथा भारतमा समेत न्यून मूल्यवृद्धि रहेको कारण समीक्षा वर्षमा समग्र उपभोक्ता मुद्रास्फीतिमा कमी आएको राष्ट्र बैंकले जनाएको  छ । 
२०७५ असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति २.७ प्रतिशत रहेको थियो । वार्षिक औसतभन्दा विन्दुगत मुद्रास्फीति बढी हुनुले आगामी दिनमा मुद्रास्फीति दवावमा रहन सक्ने जोखिम रहेको राष्ट्र बैंकले जनाएको छ । 
यस्तै क्षेत्रगत आधारमा गत आर्थिक वर्षको  वार्षिक औसत उपभोक्ता मुद्रास्फीति हिमालमा ५.९ प्रतिशत, पहाडमा ४.६ प्रतिशत, तराईमा ४.४ प्रतिशत र काठमाडौं उपत्यकामा ३.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति हिमालमा ४.१ प्रतिशत, पहाडमा ६.४ प्रतिशत, तराईमा ४.४ प्रतिशत र काठमाडौं उपत्यकामा ३.१ प्रतिशत रहेको थियो ।
२०७५ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ४.६ प्रतिशत र भारतमा ४.२ प्रतिशत रहेकोले यी दुई मुलुकहरुबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ०.४ प्रतिशत रहेको छ । गत आवमा  वार्षिक औसत थोक मुद्रास्फीति १.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति २.७ प्रतिशत रहेको थियो । 


 

Comments