News

आर्थिक वर्ष सकिएको महिना दिन बित्न लाग्दासमेत अधिकांश बैंकको वित्तिय विवरण सार्वजनिक भएन

आर्थिक वर्ष समाप्त भएको महिना दिन  बित्नै लाग्दा अहिलेसम्म १० वटा वाणिज्य बैंकले मात्र वित्तीय विवरण सार्वजनिक गरेका छन्  । नेपाल राष्ट्र बैंकले अनिवार्य रुपमा नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण बनाउन निर्देशन दिएपछि बैंकहरुको वित्तिय विवरण आउन समय लागेको हो ।
एनएफआरएस वित्तीय विवरण सार्वजनिक गर्न केही समय लाग्ने भन्दै बैंकहरुले राष्ट्र बैंकलाई अनुरोध गरेपछि राष्ट्र बैंकले थप १५ दिन समय उपलब्ध गराएको थियो । जसअनुसार बैंकहरुले  साउन मसान्तभित्रमा वित्तिय विवरण सार्वजनिक गरिसक्नुपर्ने हुन्छ ।
यसअघि बैंक तथा वित्तीय संस्थाले त्रैमासिक सकिएको १५ दिनभित्र विवरण सार्वजनिक गरिसक्नुपर्ने थियो ।
वित्तीय विवरण सार्वजनिक गर्ने बैंकमध्ये सबैभन्दा धेरै निक्षेप संकलन  र कर्जा प्रवाह गर्नेमा एनआईसी एशिया बैंक देखिएको छ ।
बैंकले एक वर्षमा करिब ६५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको हो । बैंकले हालसम्म १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब ६६ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।  एनआईसी एशिया बैंकको खुद मुनाफा  यो आर्थिक वर्षमा भने घटेको छ । गत आवमा सबै वाणिज्य बैंकको खुद मुनाफा बढ्दा एनआईसी एशियाको नाफा भने घटेको छ । अघिल्लो वर्ष १ अर्ब ४७ करोड रुपैयाँ कमाएको बैंकले आव २०७४–७५ मा १ अर्ब १९ करोड रुपैयाँ मात्र नाफा गरेको हो ।
वित्तीय विवरण सार्वजनिक गर्ने बैंकमध्यै सबैभन्दा धेरै चुक्तापूँजी नेपाल इन्भेस्टमेन्ट बैंकको रहेको छ ।  बैंकको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुगेको हो ।    यस्तै वित्तिय विवरण सार्वजनिक गरेको बैंक मध्ये ईन्भेष्टमेन्ट बैंक नै  खुद मुनाफा आर्जनमा अब्बल देखिएको छ ।  बैंकले वर्षभर ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो नाफा अघिल्लो आवको भन्दा ४६ करोड रुपैयाँ बढी हो । यस्तै  नेपाल बैंकले वर्षभरि ३ अर्ब ३९ करोड रुपैयाँ  नाफा कमाउँदा माछापुच्छ्र्ेर बैंकले २ अर्ब ८० करोड रुपैयाँ नाफा आर्जन गरेको  छ ।
अघिल्लो आर्थिक वर्षसम्म चुक्तापूँजी ८  अर्ब नुपर्‍याएका  एभरेस्ट बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई र प्राइम कमर्सियल बैंकको चुक्ता पूँजी आठ अर्ब नाघेको छ ।

 

Comments