News

एडीबीको सहयोगमा उपत्यका भित्रको एस ५ रुटमा १७ वटा हाईटेक बस सञ्चालनमा

एशियाली विकास बैंक एडीबीको सहयोगमा काठमाडौ उपत्यका भित्रको एस ५ रुटमा १७ वटा हाईटेक बस सञ्चालनमा आएको  छ । ती बस गोगंबु – गल्कोपाखा–लैनचौर–रत्नपार्क– मैतीदेवी – सिनामंगल  रुटमा चल्ने छन् । काठमाडौँ उपत्यका भित्रका ६६ रुट मध्ये यस ५  रुटमा यी बस सञ्चालनमा आएपछि यस अघि सोही रुटमा चल्ने २६ माईक्रोबस र ३५ टेम्पो विस्थापित हुनेछन् । 
एडिबीले काठमाडौं दीगो शहरी यातायात आयोजनाअन्तर्गत रहने गरी यी बस सहयोग गरेको हो ।  युरो ४ मापदण्डका यी बसले प्रदुषण कम गर्नेछन् । यी बसमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गरिएको छ। यी बस चढ्दा ग्राहकले कार्डबाट पनि भाडा तिर्न सक्छन् । बस अपांगमैत्री रहेका काठमाडौँ दिगो सहरी यातायात आयोजनाले जनाएको छ ।  बस सेवाको उद्घाटन गर्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले  मास ट्रान्सपोर्टेसन यातायात व्यवस्था कार्यान्वयनका लागि  ठुला बस सेवा सञ्चालन गर्ने सरकारको उद्धेश्य रहेको जानकारी दिए ।  मन्त्री महासेठले विस्तारै अन्य रुटमा समेत  ठुला बस सञ्चालनलाई  प्राथमिकता दिने बताए । 
एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखनोभले यातायात व्यवस्था विभागसँग नजिक रहेर काम गर्न पाउँदा सुखद अनुभूति गरिरहेको बताए ।  उनले  आयोजनाले सहरमा प्रभावकारी यातायात व्यवस्थापन प्रणाली सञ्चालन गर्न सहयोग गर्ने विश्वास समेत व्यक्त गरे । 
दीगो सहरी आयोजना २ अर्ब २३ करोड रुपैयाँ बराबरको आयोजना हो। यसमा नेपाल सरकारले ८० करोड रुपैयाँ योगदान गर्नेछ। यी बस सञ्चालन गर्न, इ–टिकेटिङको व्यवस्था गर्न र जिपिएस प्रणाली राख्न करिब १० करोड रुपैयाँ खर्च भएको  छ ।

 

Comments