News

संविधानको मर्मअनुसार समाजवाद उन्मुख बजेट ल्याउने अर्थमन्त्री खतिवडाको भनाई

अर्थमन्त्री डा युवराज खतिवडाले संविधानको मर्मअनुसार समाजवाद उन्मुख बजेट ल्याउन सरकारले तयारी गरिरहेको जानकारी दिएका छन् ।
राष्ट्रियसभाको सोमबारको  बैठकमा बोल्दै मन्त्री खतिवडाले सो  कुरा जानकारी दिएका हुन् ।  आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सदस्यहरुले उठाएको जिज्ञासामा जवाफ दिदै उनले  नागरिकका मौलिक हकका साथै निजी क्षेत्रको व्यवसायको अधिकारको सीमामा रहेर बजेट आउने  स्पष्ट पारेका छन् ।
मन्त्री खतिवडाले रकमका लागि केन्द्रमा हेर्ने र अधिकारमात्र आफू लिन खोज्ने प्रवृत्ति प्रदेश र स्थानीय सरकारले लिन नहुने भन्दै बजेटले त्यसलाई संयोजनको पहल गर्ने विश्वास व्यक्त गरे ।  उनले निर्वाचनपछिको तीन तहको सरकार भएकाले वित्तीय संघीयता कार्यान्वयनका लागि आसन्न बजेटले इच्छाशक्ति बढाउने समेत बताएका छन् ।
बैठकमा परशुराम मेघी गुरुङ, सुरेन्द्रराज पाण्डे, रामलखन चमार, नैनकला थापा, सरिता प्रसाईं, खेमराज नेपाली, प्रमिला गुरुङ, दुर्गाप्रसाद उपाध्याय, ठगेन्द्रप्रसाद पुरी, महेशकुमार महरा र भैरवबहादुर श्रेष्ठले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे सुझाव दिएका थिए ।  राष्ट्रियसभाको अर्कौ बैठक आगामी जेठ ३ गते ११ बजे बस्नेछ ।

Comments