News

आर्थिक समृद्धिलाई केन्द्रमा राखेर बजेट ल्याउन सांसदहरुको अर्थमन्त्रीलाई सुझाव

जनताको विकास र चाहनाप्रतिको आशा र चाहनालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेट ल्याउन सांसदहरुले सरकारलाई सुझाएका छन् ।
प्रतिनिधिसभाको आईतबारको बैठकमा आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता को छलफलमा धारणा  राख्दै सांसदहरुले सो कुरा बताएका हुन् । समृद्धिका लागि आत्मबल तयार पार्ने तवरले बजेट आउनुपर्नेमा जोड दिदै सांसदले वर्तमान सरकारप्रति जनताको असाधारण विश्वास रहेको विषयलाई सम्बोधन गर्नुपर्ने धारणा राखेका छन्  ।
नेकपा माओवादी केन्द्रका जनार्दन शर्माले बजेट कार्यन्वयनमा ढिलासुस्ती गर्ने प्रवृत्तिको निरुत्साहन गर्नुपर्नेमा जोड दिए ।  उनले ठूला कार्यक्रमलाई जोड दिएर यथेष्ट बजेट उपलब्ध गराउन माग समेत गरेका छन् ।
पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका नेता विष्णुप्रसाद पौडेलले नेपाली जनताको आत्मबल बढाउने र आर्थिक समृद्धिको आधार तयार पार्नेखालको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । उनले  आर्थिक समृद्धिको नाराको व्यावहारिक कार्यान्वयन गर्नेखालको बजेट जरुरी  रहेको  बताए ।
नेपाली कााग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विगतका सरकारलाई आरोप लगाउने सरकारले हचुवाका भरमा बजेटका सिद्धान्त प्रस्तुत गरेको आरोप लगाएका छन् ।  
प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने तय भएको छ ।

 

Comments