News

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न काभ्रेमा वैकल्पिक विमानस्थल निर्माण गरिने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न काभ्रेमा वैकल्पिक विमानस्थल निर्माण गरिने भएको छ ।
आन्तरिक उडानलाई व्यवस्थापन गर्न काभ्रेको नागीडाडा वा ठूलीचौरमा अबको १५ दिनभित्र विमानस्थल निर्माणको  टुंगो लाग्ने भएको हो । नेपाल नागरिक उडड्यन प्राधिकरण ले दुवै स्थानमा विमानस्थल निर्माणका लागि विभिन्न मितिमा प्रारम्भिक अध्ययन गरिसकेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले वैकल्पिक विमानस्थल निर्माणलाई विशेष चासो दिन निर्देशन दिएका छन् ।  पर्यटन मन्त्री अधिकारीले प्रस्तावित विमानस्थल क्षेत्रको स्थलगत अवलोकन गर्दै  १५ दिन भित्रमा   विमानस्थल निर्माण  गर्ने टुंगो लाग्ने बताए ।
पर्यटनमन्त्री अधिकारीले वैकल्पिक विमानस्थल निर्माणमा प्राविधिकलगायत सबै प्रक्रिया चाडो अघि बढाउन आफ्नो घोषित १०० दिने कार्यक्रमभित्रै विमानस्थल कहाँ र कुन मोडलमा बन्ने भन्ने निर्णय भइसक्ने उल्लेख गरे ।  बनेपा नगरपालिकाको नागीडाडा तथा धुलिखेल नगरपालिकाको ठूलीचौर र चिसापानी ठूलीचौरको मन्त्रीसहितको टोलीले निरीक्षण गरेको थियो  । भौगोलिक अवस्थिति, विमानको रुट, मौसमी अवस्था र प्राविधिक हिसाबले उपयुक्त स्थानलाई विमानस्थल बनाइनेछ । अध्ययन भएका दुईमध्ये उपयुक्त स्थानको निक्र्योल गरी विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पारिने नेपाल नागरिक उडड्यन प्राधिकरणले जानकारी दिएको छ ।  

 

Comments